दक्षिण कोरियाका पूर्वराष्ट्रपति पक्राउ, हुनसक्छ मृत्युदण्ड



काठमाडौं । दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पुनः पक्राउ परेका छन् ।

सैन्य शासनको असफल प्रयासका कारण देशलाई राजनीतिक संकटमा धकेलेका युनले गत डिसेम्बरमा ६ घण्टाका लागि सैन्य शासन लागू गर्ने आदेश दिएका थिए । जसका कारण उनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो।

सियोलको केन्द्रीय जिल्ला अदालतका एक वरिष्ठ न्यायाधीशले युनलाई प्रमाण नष्ट गर्न सक्ने आशङ्का व्यक्त गर्दै पक्राउ पुर्जी जारी गरेका हुन् ।

युनलाई सैन्य शासन लगाउने प्रयास गरी विद्रोहको नेतृत्व गरेको आरोपमा मुद्दा चलाइनेछ । बुधबारको सात घण्टा लामो सुनुवाइका क्रममा विशेष सल्लाहकार टोलीले पाँच प्रमुख आरोपहरूमा पक्राउ पुर्जीका लागि बहस गरेको थियो ।

युनलाई पहिलो पटक गत जनवरीमा पक्राउ गरिएको थियो । तर अदालतले प्राविधिक कारण देखाउँदै दुई महिनापछि पक्राउलाई उल्ट्याइदिएपछि उनी रिहा भएका थिए ।

यदि उनी दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति: २६ असार २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्