दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध डिसेम्बर ३ मा सैन्य कानुन (मार्सल ल) लागु गर्ने प्रयास गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ ।
दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापका अनुसार बिहीबार बिहान पक्राउ पुर्जी जारी गरिएको हो ।
यून बुधबार सियोलको एक अदालतमा अभियोजकले अनुरोध गरेको पक्राउ पुर्जीको समीक्षाका निम्ति सात घण्टा लामो सुनुवाइमा उपस्थित भएका थिए । त्यसपछि अदालतको निर्णयको पर्खाइमा उनलाई हिरासत केन्द्रमा लगिएको थियो ।
रूढिवादी यूनलाई दक्षिण कोरियाको संवैधानिक अदालतले गएको अप्रिलमा सैन्य कानुन लागु गर्ने प्रयास र अधिकारको दुरुपयोग गरेको आरोपमा राष्ट्रपति पदबाट हटाएको थियो ।
प्रकाशित मिति: २६ असार २०८२, बिहिबार
















