एनसेललाई कर छुट नदिन माग गर्दै धर्ना


 


काठमाडौं, चैत्र ७

नागरिक अधिकार अभियानले एनसेललाई ३३ अर्ब कर छुट गर्न नहुने माग गर्दै आइतबार भद्रकालीमा धर्ना दिएको छ । विभिन्न सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा साँझ भएको कार्यक्रममा देशको अर्थतन्त्रमा ठगी गर्नेलाई कारबाहीको माग गरिएको छ । बेलुका ४ देखि ५ बजेसम्म धर्ना दिइएको हो ।

कार्यक्रममा ‘कर नतिर्ने नतिराउनेलाई बहिस्कार गरौँ’, ‘गरिब नेपालीको पैसामा लाग्ने कर नेपालीले पाउनुपर्छ’, ‘महँगो रेट नेपालीको ढाड भाँच्ने खेल’, ‘हामी निर्णय मान्दैनौँ एनसेल जान्दैनाँ ’ लगायत सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले कुनै पनि उद्योगीले व्यवसाय सञ्चालन गरेर नाफा आर्जन गरेपछि राज्यले निर्धारण गरेको कर तिर्ने दायित्व हुनेहुँदा एनसेललाई कर मिनाह गर्न नहुने बताए ।

अभियन्ता ध्रुव रिजालले नेपाली जनताको सामाजिक विकासमा उपयोग हुने कर सबैले तिर्नुपर्नेमा जोड दिए । स्वीडेनको टेलिया सोनेरा कम्पनीले एनसेलको कारोबार मलेसियाको एजिआटालाई बिक्री गर्दा हुने नाफाको कर (पुँजीगत लाभकर) सरकारलाई बुझाउन बाँकी छ ।

प्रकाशित मिति: ७ चैत्र २०७३, सोमबार

प्रतिक्रिया दिनुहोस्