आज पाँचवटा संसदीय समितिको बैठक बस्दै



काठमाडौँ । संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिका बैठक बस्दै छ ।

दिउँसो १ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बस्दैछ । बैठकमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजनासम्बन्धी सुझावको मस्यौदामा छलफल हुनेछ ।

बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुनेछ ।

बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा मधेस प्रदेशलगायत देशभरका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्याको समाधानका लागि मन्त्रालयबाट भएका कामकारबाहीबारे छलफल हुनेछ ।

दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।

बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुँदै छ ।

बैठकमा उक्त मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्