मन्त्रिपरिषद्का आठ निर्णय सार्वजनिक
काठमाडौँ, २४ असार । सरकारले नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो।
त्यसैगरी, बैठकले काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गरेको छ।
सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले विभिन्न नियुक्ति, नियमावली तथा राष्ट्रिय योजनासम्बन्धी आठ महत्वपूर्ण निर्णय गरेको जानकारी दिनुभयो।
मन्त्रिपरिषद्का प्रमुख निर्णय
- नेपाल सरकारको मुख्य सचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने।
- काठमाडौँ उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने।
- कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने।
- विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन तथा नियमन) नियमावली, २०८३ स्वीकृत गर्ने।
- शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ स्वीकृत गर्ने।
- कारागार नियमावली, २०८३ स्वीकृत गर्ने।
- मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना (२०८३/८४–२०८७/८८) स्वीकृत गर्ने।
- भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना (२०८२/८३–२०८७/८८) स्वीकृत गर्ने।
सरकारले यी निर्णयहरू प्रशासनिक सुधार, शिक्षा, स्वास्थ्य, मानव अधिकार तथा सुशासनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ गरेको जनाएको छ।
प्रकाशित मिति: २४ असार २०८३, बुधबार










