बिचौलियासँगको सेटिङमा भूमिमन्त्रीले गरे मध्यरातमा मालपोत कार्यालय प्रमुखहरुको सरुवा



काठमाडौं । पोखरा बाटुलेचौरस्थित लिचीबारीको १ सय ३५ रोपनी जग्गा काण्डमा मुछिएका भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जाँदाजाँदै काठमाडौं उपत्यकाका तीन मालपोत कार्यालयका प्रमुखहरु हेरफेर गरेका छन् ।

बिचौलिया प्रमोद खड्काले दररेट बुझाएपछि मन्त्री अधिकारीले बुधबार मध्यराती तीनै मालपोत कार्यालयको प्रमुख सरुवा गरेको स्रोत बताउँछ ।

मालपोत कार्यालय ललितपुरमा अशोक भट्टराई, भक्तपुरमा माधव घिमिरे र कलंकीमा रविन ढकालको सरुवा गरिएको छ । यी तीनै उपसचिवसँग बिचौलिया खड्काले नै डिल गरेको स्रोत बताउँछ ।

मन्त्री अधिकारीले पद सम्हालेदेखि नै मालपोत र नापी कार्यालयका खरिदारदेखि उपसचिवको सरुवा बिचौलिया खड्काकै सेटिङमा गर्दैआएको आरोप छ । निजामती सेवा नियमावलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहमतिमा कार्यालय प्रमुखको काजसरुवा गर्ने कानुनी ब्यवस्था छ ।

तर मन्त्री अधिकारीले बुधबार मध्यराति सामान्य प्रशासनको सहमति नै नलिई सरुवा गरेका छन् । निजामती सेवा नियमावलीको दफा १८ क अनुसार सामान्य प्रशासन मन्त्रालयको सहमतिमा तीन महिनासम्म काजमा खटाउनसक्ने ब्यवस्था छ ।

तर त्यसरी काजमा खटाउँदा कार्यरत कार्यालयबाटै तलव भत्ता खानुपर्ने ब्यवस्था छ । तर नियमावलीको ब्यवस्था बिपरीत मन्त्री अधिकारीले खटिएको कार्यालयबाटै तलव भत्ता खानेगरी काज सरुवा गरेका छन् ।

पोखराको लिचीबारी जग्गामा घुस डिल गरेको अडियो प्रकरणले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको पद चट् भयो । उनले राजीनामा दिए । तर गुप्ताभन्दा बढी कसूर अधिकारीको भए पनि उनले राजीनामा दिएका छैनन् ।

मालपोतका हाकिमको सरुवामा चलखेल

प्रधानमन्त्री ओलीले पदमुक्त गर्ने निश्चित भएपछि अधिकारीले हतार हतार काठमाडौंका तीन मालपोत प्रमुखको सरुवा गरेर लाभ लिन सफल भएका छन् । बिचौलियाले काठमाडौं उपत्यकाका मालपोत कार्यालयका प्रमुखको दररेट २० लाख, मालपोत अधिकृतका लागि १० लाख र खरिदार नासुको ५ लाख दर कायम गरिएको छ । यही दररेट अनुसार गएको असोजमा ४ सय १८ जना र त्यसपछि पनि लगातार सरुवा गरिएको छ ।

पोखराको अरबौै मूल्यका जग्गा गैरकानुनी दर्तामा मुछिएका मन्त्री अधिकारी मन्त्रिपरिषद पुनर्गठनमा पदमुक्त हुँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजभोलि नै मन्त्रिपरिषद पुनर्गठन गर्दैछन् । र, उनी पदमुक्त हुने निश्चित छ ।

ललितपु मालपोत कार्यालयको प्रमुख जीवनराज सेढाई थिए । भक्तपुरको कार्यालय प्रमुख रिक्त थियो । भक्तपुरका कार्यालय प्रमुख कुमार आचार्य घुस प्रकरणमा निलम्बनमा परेपछि रिक्त भएको थियो । कलंकी मालपोत कार्यालय प्रमुखमा पूर्णबहादुर केसी थिए ।

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्