प्रधानमन्त्री दाहाल आज चीन जाने


 


काठमाडौं, चैत्र १०

प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीन भ्रमणमा जाँदै छन् । एशियाका लागि पोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको पोआओतर्फ प्रस्थान गर्न लागेको हो । भ्रमणका क्रममा कुनै सम्झौता भने गरिने छैन । यद्यपि, चिनियाँ राष्ट्रपति सी सिनफिङसँग राजधानी बेइजिङमा शनिवार छोटो समयका लागि भेटको वातावरण मिलाइएको छ ।

चिनियाँ राष्ट्रपतिसँगको भेटवार्तापछि उनले १२ गते शनिवार नै पोआओ सम्मेलनलाई सम्बोधन गर्दैछन् । बुधबार पत्रकार सम्मेलन गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री दाहालको चीन भ्रमणक्रममा कुनै सम्झौता नहुने स्पष्ट पारेका हुन् । भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री र विदेश मन्त्री चीनमा नरहने भएकाले नेपालका तर्फबाट सबै तयारी गरिएपनि कुनै औपचारिक सम्झौता नहुने उनले बताए ।

नेपालकोतर्फबाट कनेक्टीभिटी, रेलवे, सडक निर्माण, ट्रान्समिसन लाइन, पारवहन र वान बेल्ट वान रोड लगायतका विषयमा सम्झौताका लागि सबै तयारी पूरा भएको उनको दावी थियो । चिनियाँ राष्ट्रपतिसँग यिनै विषयमा छलफल हुने मन्त्री महतले बताए । प्रधानमन्त्री दाहालको भ्रमणमा प्रधानमन्त्री पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री महत, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत सहभागी हुनेछन् ।

चैत १३ गते प्रधानमन्त्री दाहालले बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने नेपाल–चीन सम्बन्ध र समृद्धिका अवसर विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्नेछन् । सोही दिन चिनियाँ व्यापारी समुदायसँग छलफल गर्ने एवं विश्वविद्यालय परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गरिने कार्यक्रम छ ।

१५ गते नेपाली टोली तिब्बतको ल्हासा पुग्नेछ र त्यहाँ नेपाल–तिब्बत सरकारबीच स्थानीय तहमा विद्यमान द्विपक्षीय संयन्त्र थप क्रियाशील बनाउने विषयमा तिब्बत सरकारका नेतासँग छलफल गरिने छ । प्रधानमन्त्री दाहाल चैत १६ गते स्वदेश फर्कने कार्यतालिका छ ।

प्रकाशित मिति: १० चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्