नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ ‘टीभी प्याकेज’ सार्वजनिक
काठमाडौँ, २५ जेठ । नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै विशेष ‘टीभी प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले आईपीटीभी ग्राहकहरूका लागि ९९९ रुपैयाँमा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सकिने सुविधा उपलब्ध गराउने जनाएको छ।
नेपाल टेलिकमका अनुसार ग्राहकहरूले हिमालय स्पोर्ट्स च्यानल छनोट गरेपछि टेलिभिजनको स्क्रिनमा देखिने इन्ट्री स्क्रिनमा आफ्नो प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि प्राप्त हुने ओटीपी टेलिभिजनमा राखेपछि मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्त सक्रिय हुनेछ। उक्त प्याकेज नजिकको ग्राहक सेवा केन्द्रबाट समेत सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ।
कम्पनीले जेठ २६ गतेदेखि साउन ३ गतेसम्म वार्षिक १०० एमबीपीएस वा सोभन्दा बढी गतिको इन्टरनेटसहितको आईपीटीभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा कम गतिको प्याकेजबाट १०० एमबीपीएस वा सोभन्दा माथिको प्याकेजमा स्तरोन्नति गर्ने ग्राहकलाई फिफा विश्वकप २०२६ ‘टीभी प्याकेज’ बोनसस्वरूप निःशुल्क उपलब्ध गराउने जनाएको छ।
बोनस प्याकेज प्राप्त गर्न ग्राहकले आफ्नो मोबाइलबाट *1416# डायल गर्न सक्ने व्यवस्था गरिएको छ।
नेपाल टेलिकमले उच्च गुणस्तरीय प्रविधि तथा खेलकुद मनोरञ्जन सेवा प्रदान गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै थप जानकारीका लागि ग्राहक सेवा केन्द्र, आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार
















