एमाले लुम्बिनी प्रदेशसभाको प्रमुख सचेतकमा यमुना रोका मगर, सचेतकमा नवराज लामिछाने
दाङ, २५ जेठ । नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा रोल्पाका यमुना रोका मगर र सचेतकमा कपिलवस्तुका नवराज लामिछाने नियुक्त भएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता चेतनारायण आचार्यले पार्टीको प्रदेशसभा संसदीय दलको विधानअनुसार रोका मगरलाई प्रमुख सचेतक र लामिछानेलाई सचेतकमा नियुक्त गरेका हुन्।
उनीहरूको नियुक्ति २०८३ जेठ २५ गतेदेखि लागू हुने जनाइएको छ।
यसअघि प्रमुख सचेतकको जिम्मेवारी रुपन्देहीका तुलसीप्रसाद चौधरीले सम्हाल्दै आएका थिए भने यमुना रोका मगर सचेतक रहँदै आएकी थिइन्। चौधरीले सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको शपथ ग्रहण गरेपछि प्रमुख सचेतक पद रिक्त भएको थियो।
रोका मगर प्रमुख सचेतकमा नियुक्त भएपछि रिक्त भएको सचेतक पदमा नवराज लामिछानेलाई जिम्मेवारी दिइएको हो।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार
















