देशका विभिन्न स्थानमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने



काठमाडौँ, २५ जेठ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार राति देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

मङ्गलबार कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने तथा सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।

बुधबार कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा सामान्य बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

यस्तै, मङ्गलबार र बुधबार बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो दिनको अवस्था रहने र गर्मी बढ्ने सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्