वरियाता विवादले मन्त्रिपरिषद् बैठक अनिश्चित


 


काठमाण्डौ, चैत्र १०
कार्यबाहक प्रधानमन्त्री कसलाई दिने भन्ने बिषयमा सहमती हुन नसकेपछि मन्त्रिपरिषद् बैठक अनिश्चित बनेको छ । मुलुकका कार्यकारी प्रधानमन्त्रीको बिदेश भ्रमण पूर्व कार्यतालिका तय गर्न बैठक बस्नु पर्ने भएपछि उपप्रधानमन्त्रीद्वय बिमलेन्द्र निधि र कमल थापाले दोस्रो वरियातामाथि दावी गरेपछि बैठक नै अनिश्चित बनेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको एक साता लामो भ्रमणका लागि आज चीन जाने भएपनि कार्यबाहकको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय भएको छैन । सोही विवादका कारण हिजो बिहानका लागि बोलाईएको बैठक साँझ सारिएपनि बस्न सकेन । प्रधानमन्त्रीको कार्यतालिका, भ्रमण टोली लगायतबारे हिजो दिउँसो परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।

गत साउनमा सरकार गठन भएकै दिन दोस्रो वरियाता सहित मन्त्रिमण्डलमा सहभागी भएका गृहमन्त्री निधिले आफ्नो दावी कायमै राख्नु भएको छ । गत सातामात्र सरकारमा गएका राप्रपा अध्यक्ष कमल थापाले समेत निधि अघि नै आफु दोस्रो वरियातासहित मन्त्रिमण्डलमा सहभागी भएको बताउदै आएका छन । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकास मन्त्री थापा संसद बैठकमा दोस्रो वरियाताको कुर्सीमा बसेपछि अर्का उपप्रधानमन्त्री निधि बैठकमा सहभागी भएको छैन ।

उनको अनुपस्थितिमा संसद बैठकमा हिजो राजनीतिक दलसम्बन्धी विधेयक समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले प्रस्तुत गर्नुभएको थियो । वरियाता विवादका कारण मन्त्रिपरिषद्का पछिल्ला बैठकमा मन्त्रीहरुको नाम लेख्ने बिषयमा समेत चर्को विवाद हुने गरेको एक मन्त्रीले बताए । उनकाअनुसार, वरियाता निर्धारणका क्रममा अर्का उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले संसदको सवैभन्दा ठूलो दल कांग्रेसबाट सरकारमा नेतृत्व गर्दै आएका निधिलाई दोस्रो वरियाता दिन सजिलै स्किारेपनि थापा भने मान्न तयार देखिएका छैनन ।

विवादका बीच प्रधानमन्त्री दाहाल कसैलाई कार्यबाहकको जिम्मेवारी नदिई चीन भ्रमणमा निस्कने तयारी गर्नुभएको वालुवाटार स्रोतको भनाई छ । निधिलाई दोस्रो वरियाता दिन कांग्रेस सभापति शेरबहादुर देउवाले समेत प्रधानमन्त्री दाहाललाई दवाव दिदै आएका छन भने निधिले समेत सरकारबाट बाहिरिने चेतावनी दिदै आएका छन ।

प्रकाशित मिति: १० चैत्र २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्