काण्डैकाण्डमा मुछिएका उर्जामन्त्रीद्वारा अख्तियारलाई धम्की



काठमाडौं । काण्डैकाण्डमा मुछिएका उर्जामन्त्री दीपक खड्काले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत धम्की दिएका छन्। उनका अनेक भ्रष्टाचार प्रकरणमा आयोगले छानविन थालेपछि आयोगलाई नै धम्की दिएका हुन् ।

नेपाल बिद्युत् प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो असभ्य शैली देखाएका हुन्। उनले भनेका छन्-‘अनि अख्तियारमा चिठी पठाएको भरमा चुप लाग्छ जस्तो लाग्छ तपाईलाई ? अख्तियारलाई हामीले चिन्या छेन ? गजब छ बा ! अनि कुनै निकायको कुरा गरेर तर्सिन्छ जस्तो लाग्छ तपाईलाई ? ती निकायहरू हामीले नै बनाएका हौं । कानूनभित्र बसेर अनुशासित ढंगले काम गर्नुपर्छ ।’

पछिल्लो समय डेडिकेटेड लाइनको बक्यौता असुलीको विषयमा अख्तियाले फाइल मगाएपछि खड्काले आयोगलाई नै यसरी धम्काएका हुन्।

खड्का व्यापारीहरुसँग मिलेर बक्यौता नउठाउने पक्षमा लागेका छन् । मन्त्री भएको १३ महिना हुँदा पनि उनले यसतर्फ चासो दिएका छैनन् । सोही विवादमा उनले प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक कुलमान घिसिङलाई समेत हटाएका थिए।

मन्त्री खड्का अन्य नीतिगत भ्रष्टाचारमा पनि मुछिदै आएका छन्। जगदुल्ला हाइड्रोपावरको ठेक्कामा करोडौंको चलखेल गरेर चिनियाँ कम्पनीलाई ठेक्का दिन लागेको विषयमा संसदीय समितिले समेत छानविन गरिरहेको छ।

त्यस्तै, सिंचाईका आयोजनाहरुमा कर्मचारी सरुवामा लेनदेनको आरोप मन्त्री खड्कामाथि छ । आफूले भनेअनुसार दबाब नमानेपछि बिद्युत् प्राधिकरणका हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसँग पनि उनको विवाद बढीरहेको छ ।

नेपाल स्काउटको जग्गाको भाडा हिनामिनाको आरोप पनि उनीमाथि लाग्दै आएको छ।

प्रकाशित मिति: २ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्