कर्णालीमा नागरिक गुहार मागिरहे, आकाशमा मन्त्रीको हेलिकप्टर उडिरह्यो: ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले कर्णाली नदीमा नागरिक डुब्दा उद्धारका लागि चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद शाहीले कर्णालीका नागरिकले विपद्को बेला पनि राज्यको उपस्थिति महसुस गर्न नपाएको भन्दै संसद्मा आपत्ति जनाएका हुन् ।
कर्णाली नदीमा नागरिकहरू डुबेर जीवनको भिख मागिरहँदा सरकार र जनप्रतिनिधिहरू सत्ताको भागबन्डा र मन्त्रीको सवारीमा व्यस्त भएको भन्दै आलोचना गरे ।
उनले उक्त दुर्घटना पछि गरिएको फोन समेत नउठाएर सरकारले नागरिकको जीवन रक्षाको विषयमा खेलवाड गरेको पनि बताए ।
उनले भने- ‘भीरमा अड्किएर उहाँले जीवनको भीख मागिराख्नुभएको थियो । उनीहरूको गुहारले नदीको किनार थर्कियो । डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो । स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो । गाडी नदीमा डुब्यो त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो । तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो ।’
विपदमा हेलिकप्टरबाट उद्धार गर्ने गृहमन्त्री सुधन गुरुङले संसदमा प्रतिबद्धता जनाएपनि हालै सुर्खेतबाट कालिकोट जाँदै गरेको यात्रुवाहक गाडी कर्णाली नदीमा खस्दा सरकारले उद्धारका लागि हेलिकप्टर सञ्चालन गर्न नसकेको उनको आरोप छ ।
साथै कर्णाली नदी भएको दुर्घटनाबारे स्पष्ट जवाफका लागि सरकारलाई रुलिङ गर्न सभामुख डोलप्रसाद अर्यालसँग माग पनि गरे ।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार












