काउन्सिलद्वारा राससलाई पुस्तक प्रदान



काठमाडौँ, २ भदौ । प्रेस काउन्सिल नेपालले राष्ट्रिय समाचार समिति (रासस) लाई ७३ थान पुस्तक उपलब्ध गराएको छ ।

रासस केन्द्रीय कार्यालय, भ्रद्रकाली प्लाजामा आज काउन्सिलका मुख्य अधिकृत झविन्द्र भूसालले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई उक्त पुस्तक हस्तान्तरण गर्नुभयो ।

पुस्तक ग्रहण गर्दै कार्यकारी अध्यक्ष झाले राससलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने सोचका साथ पत्रकारितासम्बन्धी पुस्तक सङ्कलन गरिरहेको जानकारी दिनुभयो । उहाँले अभियानलाई साथ दिएकोप्रति काउन्सिललाई आभार व्यक्त गर्नुभयो ।

विसं २०१८ सालदेखिको राससको समाचार बुलेटिनलाई विद्युतीय अभिलेखीकरण गरी सबैको पहुँचमा पु¥याउने उद्देश्य रहेको अध्यक्ष झाले बताउनुभयो । उहाँले भन्नुभयो, “रासस काठमाडौँको केन्द्रमा छ, यहाँ राम्रो पुस्तकालय हुँदा उपयुक्त हुन्छ, मिडियाको राम्रो पुस्तकालय नभएको अवस्थामा राससलाई मिडिया अध्ययन केन्द्रका रूपमा विकास गर्ने तयारी गरिरहेका छौँ ।”

राससका महाप्रबन्धक सन्दीप राईले राससलाई पत्रकारिताको अनुसन्धान केन्द्र बनाउने अभियानमा काउन्सिलले पुस्तक उपलब्ध गराएकोमा खुशी व्यक्त गर्नुभयो ।

नेपाल प्रेस काउन्सिका मुख्य अधिकृत झविन्द्र भूसालले पत्रकारिताको अध्ययन/अनुसन्धानका लागि रासस उपयुक्त स्थान भएकाले थप आवश्यक पुस्तक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । “काउन्सिलमै पुस्तकालय स्थापना गर्न सकिएको छैन, राससमा पत्रकारितासम्बन्धी पुस्तक भयो भने सबैले पढन सक्छन”, उहाँले भन्नुभयो, “अध्ययन र इतिहासको संरक्षण गर्ने थलो हुन्छ ।”

राससले ६४औँ वार्षिकोत्सवका अवसरमा २०८१ फागुन ७ गतेदेखि ‘रासस मिडिया सङ्ग्रहालय समाचार बुलेटिन कक्ष’ सर्वसाधारणका लागि खुला गरेको हो ।

रासस स्थापना भएको दिन २०१८ फागुन ७ गतेदेखि हालसम्मको समाचार सामग्री बुलेटिन कक्षमा राखिएको छ । हाल पुस्तकालयमा विभिन्न किसिमका ७०० हाराहारीमा पुस्तक छन् ।

प्रकाशित मिति: २ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्