ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण
ताप्लेजुङ, चैत्र १२
वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ७३ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । जिल्ला निर्वाचन समन्वय समितिको बैठकले सो मतदान केन्द्रको टुङ्गो लगाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो ।
विसं २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भन्दा यो पटक आठवटा मतदान केन्द्र थप गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख अधिकारीकाअनुसार, फुङ्लिङ नगरपालिकामा मात्र पाँचवटा केन्द्र थप गरिएका छन् ।
थप भएका मतदान केन्द्रमध्ये महेन्द्र आधारभूत विद्यालय आम्बोटे, याङ्लिजुङ आधारभूत विद्यालय तारिबुङ, सामुदायिक भवन र कभर्ड हल रहेका छन् ।
त्यस्तै गङ्गा आधारभूत विद्यालय साँघु, सगरमाथा प्रावि खोक्लिङ र ठोट्ने आधारभूत विद्यालय ढुङ्गेसाँघुमा पनि मतदानस्थल रहनेगरी सिफारिस गरिएको अधिकारीले जानकारी दिनुभयो ।
समितिले तीनवटा केन्द्र भने परिवर्तन गरेको छ । नेरा आधारभूत विद्यालय चाँगेलाई चाँगे माविमा, मदनस्मृति प्रावि ढुङ्गेसाँघुलाई जनकल्याण माविमा र शिवालय प्रावि दोखुलाई सिद्धकाली माविमा परिवर्तन गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिकाको प्रत्येक वडामा एउटा अनिवार्य र एक हजार बढी मतदाता रहेको गाउँमा दुईवटा केन्द्र राख्न सकिने प्रावधान छ । त्यस्तै मतदातालाई पाँच किमीभन्दा टाढा नपर्ने गरी केन्द्र निर्धारण गर्नुपर्ने व्यवस्था रहेको प्रमुख अधिकारीले बताउनुभयो ।
“तर भैगोलिक क्षेत्र विकट र ठूलो भएको ठाउँमा केन्द्र निर्धारण गर्दा वडामा एक हजारभन्दा कम जनसङ्ख्या भए पनि केन्द्र राख्ने प्रावधान रहेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति: १२ चैत्र २०७३, शनिबार