अमेरिकाले दियो नेपाललाई सात लाख डलर बढीको सहयोग



काठमाडौँ, भदौ ७ । संयुक्त राज्य अमेरिकाले नेपालका निकुञ्ज रक्षक, स्वयंसेवी शिकारीविरोधी कार्यकर्ता र स्थानीय समुदायलाई सात लाख अमेरिकी डलरभन्दा बढी मूल्य बराबरको उपकरण सहयोग गरेको छ ।

शुक्रबार अमेरिकी दूतावासका उपमिशन प्रमुख जेसन मिक्सले अन्तर्राष्ट्रिय लागुऔषध र कानुनी कार्यान्वयन मामिलासम्बन्धी अमेरिकी विभाग र राष्ट्रिय प्रकृति संरक्षण कोषसँगको सहकार्यमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय निकुञ्ज र वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले सामग्री बुझे । सहयोग सामग्रीमा ल्यापटप, वाकी–टकी, हेडलाइट, सर्चलाइट, दुरबिन, क्यामेरा र औषधि उपचार किटजस्ता सामग्री छन् ।

यस सहयोगले नेपालका राष्ट्रिय निकुञ्जभित्र गस्ती कार्यलाई सुदृढ गर्ने, अन्तरदेशीय वन्यजन्तु अपराधलाई निरुत्साहित गर्ने र जैविक विविधताको संरक्षणमा योगदान पुर्याउने विश्वास छ । यसले नेपाल र अमेरिका दुवैलाई थप सुरक्षित बनाउने अमेरिकी दूतावासले जनाएको छ । रासस

प्रकाशित मिति: ७ भदौ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्