वीरगंजमा हैजा नियन्त्रणतर्फ, १९८ बिरामी निको भएर घर फर्किए



वीरगंज १० भदौ। वीरगंजमा झाडापखाला र हैजाको प्रकोप क्रमशः नियन्त्रणतर्फ उन्मुख भएको छ ।

वीरगंज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, आज बिहान सम्म विभिन्न अस्पतालमा उपचारपछि १ सय ९८ जना बिरामी निको भएर घर फर्किएका छन् ।

गत शुक्रवारदेखि आज बिहान सम्म ३ सय ६४ जना बिरामी अस्पताल भर्ना भएका थिए । भर्ना भएकामध्ये १ सय ६६ जना अझै उपचाररत छन् ।

वीरगञ्ज महानगरपालिकाअन्तर्गतको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार, आज बिहान मात्रै २० जना बिरामी निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरूमा हैजा पुष्टि भएका बिरामीहरू पनि समावेश छन् ।

नारायणी अस्पतालबाट ६८ जना, तराई हस्पिटलबाट ६५ जना, नेशनल मेडिकल कलेजबाट ३६, प्रभु हस्पिटलबाट १०, नेपाल इण्डो हस्पिटलबाट ९ र सर्वोत्तम हस्पिटलबाट ३ जना बिरामी निको भएर घर फर्किएको उहाँले जानकारी दिनुभयो ।

आइतबार २९ जनामा हैजा सङ्क्रमण पुष्टि भएको वीरगञ्जमा सोमबार २२ जनामा मात्र हैजाको सङ्क्रमण पुष्टि भएको छ । तुलनात्मक रूपमा सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको छ । हालसम्म वीरगञ्जमा ९३ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको ठाकुरले जानकारी दिनुभयो ।

“नयाँ बिरामी थपिने क्रम घट्दै गएको छ, र निको हुनेको सङ्ख्या बढ्दै छ,” ठाकुरले भन्नुभयो, “मङ्गलवार डिस्चार्ज हुने बिरामीको सङ्ख्या अझै बढ्ने अपेक्षा छ, किनभने धेरै बिरामीको स्वास्थ्यमा सुधार भइरहेको छ ।”

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले अवस्था भयावह नभएको र नियन्त्रणका लागि युद्धस्तरमा काम भइरहेको बताउनुभयो । “अस्पतालहरूमा शय्या र औषधिको कमी छैन । टोल टोलमा जनचेतना कार्यक्रम सञ्चालन भइरहेका छन् , । म स्वयं नियमित अनुगमनमा छु,” उहाँले भन्नुभयो “सङ्क्रमण नियन्त्रणतर्फ गइरहेको छ, तर सावधानी अपनाउन जरुरी छ ।”

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले वीरगञ्जका ४० वटै सरकारी र निजी अस्पतालहरूलाई बिरामीको उपचारमा कुनै कमी नगर्न निर्देशन दिइएको बताउनुभयो । महानगरले प्रदेश र सङ्घ सरकारसँग समन्वय गरी शनिबारेदेखि नै प्रभावकारी कदम चालिरहेको छ ।

महानगरपालिकाले नागरिकलाई स्वच्छ पानीको प्रयोग, सरसफाइमा ध्यान दिन र झाडापखाला वा हैजाको लक्षण देखिए तत्काल अस्पताल जान आग्रह गरेको छ । “हामीले अवस्थालाई नियन्त्रणमा ल्याइरहेका छौँ, तर सबैले सजगता अपनाउनुपर्छ,” प्रमुख सिंहले जोड दिनुभयो । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० डा। चुमन लाल दासले पनि बाहिर चित्रण गरिएको जस्तो अस्पतालमा भयावह अवस्था नरहेको बताउनुभयो । उहाँले पहिलो दिन ह्वातै सङ्क्रमितहरू आएपछि केही समयका लागि बिरामीहरूलाई भुईँमा राखेर उपचार गरिएको भए पनि अहिले हैजा झाडापखाला सङ्क्रमितहरूको उपचारका लागि छुटै कोठा तयार पारिएको जानकारी दिनुभयो ।

डा। दासले पहिलो र दोस्रो दिनको तुलनामा आज सङ्क्रमितहरूको सङ्ख्यामा कमी आएको र भर्ना भएका बिरामीहरूमध्ये अधिकांश आज बेलुकासम्म डिस्चार्ज हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति: १० भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्