तनहुँ बस दुर्घटनामा घाइतेको संख्या १७ पुग्यो, चालकको अवस्था गम्भीर



तनहुँ, ५ साउन । तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा मंगलबार भएको बस दुर्घटनामा घाइते हुनेको संख्या १७ पुगेको छ। प्रारम्भिक रूपमा १० जना घाइते भएको जानकारी आएको भए पनि थप घाइते अस्पताल पुगेपछि संख्या १७ पुगेको हो।

कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ६४६५ नम्बरको बस अनियन्त्रित भई कलेस्ती खोलाको पुलमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनापछि स्टेरिङ र चालक सिटबीच च्यापिएका चालक शम्शेर परियारलाई प्रहरीले उद्धार गरेको थियो।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका लागि पठाएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १७ जनामध्ये चालक शम्शेर परियारको अवस्था गम्भीर छ भने अन्य १६ जनाको अवस्था सामान्य रहेको छ।

दुर्घटनापछि केही समय प्रभावित बनेको व्यास मार्गमा सवारी आवागमन पुनः सञ्चालनमा आइसकेको प्रहरीले जनाएको छ। दुर्घटनाग्रस्त बस हटाउने काम जारी रहेको र थप घाइते अस्पताल आउने क्रम रहेकाले संख्या बढ्न सक्ने सम्भावना पनि रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार