बागमती विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा जनसम्पर्क केन्द्रको निर्देशकमा डा. तारा बञ्जाडे नियुक्त
काठमाडौँ, ५ साउन । बागमती विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा जनसम्पर्क केन्द्रको निर्देशकमा डा. तारा बञ्जाडे नियुक्त हुनुभएको छ। गत जेठ २३ गते गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार खुला प्रतिस्पर्धामार्फत उहाँ उक्त पदमा नियुक्त हुनुभएको हो।
‘सेस्मिक डेटा प्रोसेसिङ’ विषयमा विद्यावारिधि (पीएचडी) गर्नुभएका डा. बञ्जाडेसँग नेपाल तथा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयमा १० वर्षभन्दा बढी समय अध्यापन र अनुसन्धानको अनुभव रहेको छ। उहाँका विभिन्न अनुसन्धानमूलक लेख तथा कृतिहरू अन्तर्राष्ट्रियस्तरका ‘क्यू-र्याङ्क्ड’ जर्नलहरूमा प्रकाशित भएका छन्।
बागमती विश्वविद्यालयले हाल काठमाडौं, चितवन, मकवानपुर र काभ्रेपलाञ्चोक जिल्लामा रहेका आफ्ना छवटा आङ्गिक क्याम्पसमार्फत विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, शैक्षिक सहकार्य तथा जनसम्पर्क गतिविधिलाई सुदृढ बनाउन डा. बञ्जाडेको नियुक्ति महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।
प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार







