काठमाडौँको चमतीबाट ७५ लाख मूल्य बराबरको भेप बरामद, ३ जना पक्राउ



काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ स्थित चमतीबाट प्रहरीले करिब ७५ लाख मूल्य बराबरको इलेक्ट्रिक चुरोट ‘भेप’ बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चमतीस्थित एउटा घरमा लुकाएर राखेको अवस्थामा भेप बरामद गरेको हो । ३ हजार ८ सय पिस भेप बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।

अवैध तरिकाले भेपको कारोबार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका घर भएका ४० वर्षीय निमा छिरिङ शेर्पा, मेलम्ची नगरपालिका–७ घर भएका ५२ वर्षीय रामबहादुर गुरुङ र सोलुखुम्बुको थुलुङ गाउँपालिका–४ घर भएका कृष्णबहादुर गुरुङ छन् ।

चमतीस्थित रमेश श्रेष्ठको घरमा निमा छिरिङले भाडामा लिएको डेरामा सो भेप भेटिएको एसपी आचार्यले जानकारी दिए । आरोपीहरूले पटक पटक गरेर सिन्धुपाल्चोकको बाह्रबिसे नाकाबाट सो भेप ल्याएको प्रहरीलाई बताएका छन् । आरोपीहरूलाई कानुनी कारबाहीका लागि प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ ।

प्रकाशित मिति: १६ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्