सन् २०३५ सम्म पाँच एकीकृत आरोग्य केन्द्र स्थापना गरिने



काठमाडौँ, २० असार सरकारले नेपाललाई आरोग्य पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले सन् २०३५ सम्म देशका विभिन्न स्थानमा पाँचवटा प्रमुख एकीकृत आरोग्य केन्द्र स्थापना गर्ने भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिनका उपलब्धि सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आरोग्य पर्यटनलाई आर्थिक समृद्धिको नयाँ आधारका रूपमा विकास गर्ने रणनीतिअनुसार यो योजना अघि बढाइएको बताएका छन्।

उनका अनुसार नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रत्येक वर्ष अप्रिल १५ लाई विश्व आरोग्य दिवस का रूपमा मनाउने घोषणा गरिसकेको छ। सो दिवसलाई देशव्यापी अभियानका रूपमा मनाउँदै आरोग्यसम्बन्धी चेतना र पर्यटन प्रवर्द्धनलाई एकसाथ अघि बढाइने सरकारको योजना छ।

मन्त्री पोखरेलले ‘आरोग्य पर्यटन गन्तव्य नेपाल, आर्थिक समृद्धिको आधार’ भन्ने दीर्घकालीन दृष्टिसहित राष्ट्रिय आरोग्य पर्यटन रणनीति (सन् २०२६–२०३५) र आरोग्य पर्यटन कार्ययोजना (सन् २०२६–२०३०) जारी भइसकेको जानकारी दिएका छन्।

सरकारले सन् २०३० सम्म नेपाल आउने कुल अन्तर्राष्ट्रिय पर्यटकमध्ये आरोग्य पर्यटकको हिस्सा ११ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ। त्यसैगरी सन् २०३५ सम्म पर्यटक सन्तुष्टि सूचकाङ्क १० मध्ये ८.५ पुर्‍याउने लक्ष्य पनि निर्धारण गरिएको मन्त्री पोखरेलले बताएका छन्।

सरकारले गत चैतमा सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची मा आरोग्य पर्यटनको प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत व्यवस्था गर्ने प्रतिबद्धता जनाएको थियो। सोही कार्ययोजनाअनुसार आरोग्य पर्यटनलाई व्यवस्थित, गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन आवश्यक पूर्वाधार, सेवा र नीतिगत सुधारलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने सरकारको भनाइ छ।

प्रकाशित मिति: २० असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्