गोँगबुस्थित नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले
काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन हुन थालेका छन्।
यही भदौ २३ र २४ गते जेनजी आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कफ्र्यु लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन्।
शुक्रबार बिहान ७ देखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लले दिए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारबाट उचित शान्ति सुरक्षाको प्रत्याभूति नभएसम्मका लागि उपत्यका लगायत देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्न मातहतका संघसंस्थालाई निर्देशन दिएको थियो। हाल सवारीसाधन आफूखुसी बाहिरिदै छन्।
यातायात महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले संस्थागत रूपमा कसरी सवारीसाधन सञ्चालन गर्ने भन्नेबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए।
प्रकाशित मिति: २७ भदौ २०८२, शुक्रबार
















