एसपी र डीएसपीको सरुवा, अख्तियारका प्रहरीलाई अवसरै अवसर
काठमाडौं । प्रहरी प्रधान कार्यालयले बुधबार ४८ एसपी र ९० डीएसपीको सरुवा निकाल्यो । सरुवामा विभिन्न जिल्ला तथा कार्यालयका प्रमुख फेरिएका छन्।
नेपाल प्रहरीका आईजीपीले धेरै वर्षपछि राजनीतिक हस्तक्षेपबिना सरुवा गर्न पाएका छन् । जसकारण यसपटकको सरुवा विवादरहित बनेको छ ।
यसअघिका गृहमन्त्री रमेश लेखकले आफु निकटस्थहरुलाई तराईका महत्वपूर्ण जिल्ला पठाउने तयारी गरेका थिए । पर्सा र बाँके जाने भन्दै केही एसपीहरु कैलाली जान समेत नमानी बसेका थिए ।
अहिलेको सरुवामा उनीहरु हिस्स परेका छन् । लेखक निकटहरुले सरुवामा अवसर पाएनन् । यसपटकको सरुवामा अख्तियार दुरुपयोग अनुसन्धानमा कार्यरत एसपीहरुले अवसरै अवसर पाएका छन् । आकर्षक मानिने कार्यालयमा अख्तियारमा कार्यरत प्रहरीहरु खटिएका छन् ।
पर्सामा खटिएका एसपी सुदिपराज पाठक अख्तियारमै कार्यरत थिए । उनी अख्तियार प्रमुख प्रेम राई निकट हुन् ।
त्यस्तै,अख्तियारमा कार्यरत डीएसपीहरुले पनि धेरै अवसर पाएका छन् ।
बौद्ध वृत्तमा खटिएका सन्तोष रोका, मालीगाउँ वृत्तमा सरुवा भएका धनबहादुर बोहरा अख्तियारमा कार्यरत थिए । अख्तियारकै होमबहादुर पराजुली इप्रका तुलसीपुरमा सरुवा भएको छ ।
त्यस्तै, आईजीपी निकटस्थहरुले यसपटक अवसर पाएका छन् । कवित कटवालले मोरङ तथा केशव थेवेले सुनसरीको जिल्ला इन्चार्ज पाएका छन् । यसअघि अन्यायमा पर्दै आएका अंगुर जिसीलाई बाँके खटाइएको छ ।
बढुवामा छुटाइएका सुवासचन्द्र बोहरा मकवानपुरमा खटिएका छन् । नवीन कार्कीको भने अघिल्लो सरकारकै पालादेखि कास्कीको चर्चा थियो ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओ भएकाले उनले महत्वपूर्ण जिल्ला पाउने चर्चा थियो, उनको कास्कीमै सरुवा भएको छ । चलखेलबिना नै सरुवा भएकाले यसपटक इन्चार्ज पाउनेहरुले पुलिसिङ सुधार्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार
















