सुक्खा पहिरोले पृथ्वी राजमार्ग १५ घण्टादेखि अवरुद्ध, बैकल्पिक बाटो अपनाउन आग्रह
काठमाडौं । सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका- १० जवाङ खोलामा पहिरो खसेपछि १५ घण्टादेखि दुईतर्फी अवरुद्ध भएको हो।
गएराति पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो। तर राति नै फेरि ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
मंगलबार बिहान ६ बजेदेखि नै पहिरो हटाउने काम जारी छ। पहिरो पन्छाउन हाल तीनवटा मेसिन प्रयोग गरिएका छन्।तर, पहिरो झर्ने क्रम निरन्तर रहेकाले पहिरो पन्छाउन समस्या भएको छ। रातिदेखि नै यात्रु बाटोमै अलपत्र परेका छन्।
यसअघि गत शुक्रबार मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा खसेको पहिरो पन्छाएर ४० घण्टापछि सडक खुलेको थियो। काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य सडकमा निरन्तर पहिरो झर्ने क्रम जारी रहँदा दशैँ मनाउन गाउँ फर्कनेहरू मारमा परेका छन्।
धादिङको बेनीघाटबाट कटिसकेका सवारी साधनदलाई भने मुग्लिन नारायणगढ सडकखण्ड अवरोध नभएको चितवनका प्रहरी निरीक्षक डीएसपी रवीन्द्र खनालले जानकारी दिए।
छिटपुट रूपमा ढुंगा खस्ने क्रम जारी रहे पनि सुरक्षाकर्मी परिचालन गरी सवारी आवगमन सहज बनाइरहेको डीएसपी खनालले बताए।
जिल्ला प्रशासन कार्यालय धादिङले जवाङखोलाको पहिरो पन्छाउन समय लाग्ने भन्दै बैकल्पिक सडक प्रयोग गरेर यात्रा गर्न यात्रुहरुलाई आग्रह गरेको छ।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार
















