काठमाडौं महानगरले सडकमा राख्यो ट्राफिक कोन र रिट्रयाक्टेबल बार



काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन २५ सय ट्राफिक कोन र १,२५० रिट्र्याक्टेबल बार सडकमा राख्न सुरु गरेको छ।

आर्थिक वर्ष २०८० /८१ मा नै यी सामग्रीहरू खरिद गर्ने योजना भएता पनि विभिन्न प्रक्रियागत चुनौतीका कारण २०८१/८२ मा खरिद गरिएको हो, जसले ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नेपालमै उत्पादन भएका यी सामाग्रीहरू अन्तर्राष्ट्रिय गुणस्तरअनुसारका हुन्।

सहायक विज्ञ (ट्राफिक इन्जिनियरिङ) अनुकुल निधिका अनुसार, ९०-१०० से.मी. अग्ला र ३-५ केजी तौलका कोनहरू राति पनि स्पष्ट देखिने र सजिलै नहटाइने छन्। एक सेटमा दुई कोन र २ मिटर लामो बार हुन्छ।

पहिले-पहिले सडकमा राखिने कोनभन्दा अहिलेको कोनको आकार ठूलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको जानकारी दिए ।

पहिलो चरणमा सिंहदरबार-भद्रकाली, सिंहदरबार-माइतीघर र पद्मोदय मोड क्षेत्रमा प्रयोग गरिएको छ।

कोन राख्ने काम काठमाडौं महानगरपालिका, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यातायात तथा सडक सुरक्षा योजनाको प्राविधिक टिमसँगको सहकार्यमा सम्पन्न गरेको हो ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्