जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कैदी पर्सामा पक्राउ
पर्सा । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार जगन्नाथदेवल, काठमाडौंबाट फरार भएका एक कैदी पर्सामा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा कालिकामाई गाउँपालिका–५ सिमरा निवासी ४० वर्षीय मुक्तिनारायण कुर्मीलाई बुधबार बेलुकी पक्राउ गरेको हो ।
कुर्मीले आफ्नै पत्नी ३५ वर्षीया संगिता देवी कुर्मीलाई घाँटी थिची हत्या गरेको मुद्दामा पर्सा जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका थिए । उनलाई २०८२ भदौ २४ गतेको जेनजी आन्दोलनको अराजक परिस्थितिमा केन्द्रीय कारागारबाट फरार भएको घोषित गरिएको थियो ।
प्रहरीका अनुसार कुर्मी आफ्नै गाउँमा लुकीछिपी बस्दै आएका थिए । उनलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कारागार कार्यालयमा पठाउने तयारी भइरहेको पर्सा प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार
















