कैलालीमा दुई प्रहरीविरुद्ध उजुरी : इन्स्पेक्टरमाथि छानबिन समिति, सईको छानबिनविना सरुवा !
धनगढी । कैलालीमा कार्यरत दुई प्रहरी अधिकारीविरुद्ध फरक–फरक उजुरी दर्ता भएपछि प्रहरी संगठनभित्रै छानबिन र सरुवाको प्रक्रिया विवादित बनेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतिमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) दानसिंह भण्डारीविरुद्ध प्रहरी प्रधान कार्यालयमै वेनामे उजुरी परेको खुलेको छ ।
विभिन्न आरोपहरू लगाइएको सो उजुरीबारे प्रहरी प्रधान कार्यालयले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई छानबिन गर्न निर्देशन दिएपछि डीएसपी रणबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतिका प्रमुख चन्द नेतृत्वको टोलीले छानविन गरिरहेको छ । हेडक्वाटरमा बेनामे उजुरी परेको र छानविन समिति पनि गठन गरिएको डीएसपी चन्दले पुष्टि गरे ।
उनका अनुसार भदौं २३ गते उजुरीबारे इलाका प्रहरी कार्यालय मालाखेतिलाई जानकारी गराइएको थियो । छानविन चलिरहेको उनले बताए ।
भण्डारीलाई केही महिना अघि दंगा नियन्त्रण प्रहरी गण, कञ्चनपुरमा काज सरुवा गरिएको भए पनि रमना नदिइएको विषयले समेत प्रश्न उठाएको छ ।
यता, वडा प्रहरी कार्यालय धनगढीमा कार्यरत सई दिपेन्द्र किमाडीविरुद्ध पनि केही दिनअघि जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी परेको थियो ।
तर उजुरीमाथि छानबिन नगरी उनलाई बुधबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरेर रमाना दिइएको छ । यो विवादास्पद् निर्णयले प्रहरी नेतृत्वमाथि नै शंका उत्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले सई किमाडीविरुद्ध परेको उजुरीबारे बुझेर छानबिन अघि बढाइने बताए । तर काज सरुवा भने तालुक कार्यालयको निर्देशनअनुसार भएको उनको भनाइ छ ।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार
















