युवाको माग सम्बोधन गर्न पदत्याग गरेको हुँ, राजनीतिबाट अलग छैन : बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट अलग भएपनि राजनीतिबाट अलग नभएको बताएका छन् ।
नेपाल समाजवादी पार्टी (नेसपा) को अध्यक्ष पदबाट राजीनामा दिएपछि आज पत्रकार सम्मेलन गरेका भट्टराईले नवयुवाको मागलाई सम्बोधन गर्न पदत्याग गरेको बताएका हुन् ।
भट्टराईले भने- ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहने छु ।’
जेनजी विद्रोह नेपालको मौलिक र जायज आन्दोलन भएको बताए ।
भट्टराईले भने- ‘भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न, ‘नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ ।’
उनले चुनाव अघि भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्ने बताए । अन्यथा भ्रष्ट नेताहरु नै निर्वाचित भएर आउने उनको भनाइ छ ।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार
















