तुइनखोलाको पहिरो ६० प्रतिशत पन्छाइयो, रातिसम्म सवारी सञ्चालनको तयारी
काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ तुइन खोला पुलनजिक पहिरो पन्छाउने कार्य जारी छ ।
हालसम्म करिब ६० प्रतिशत पहिरो पन्छाइएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पहिरो पन्छाउनका लागि नारायणगढ तर्फ २ र मुग्लिन तर्फ ३ गरी ५ वटा उपकरणहरू प्रयोग भएका छन् । साथै दुवैतर्फ १/१ वटा उपकरण तयारी अवस्थामा राखिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
पहिरो पन्छाउने क्रममा नारायणगढ साइडतर्फ ठूलाठूला ढुंगाका कारण केही कठिनाइ भएको सडक डिभिजनले जनाएको छ ।
सडकमाथिबाट खसेको पहिरोको थुप्रोमा ढुंगाहरूको मात्रा बढी भएर उपकरणका टायर पन्चर हुने, ढुंगाले लागेर अपरेटर घाइते हुने जस्ता समस्याले गर्दा सोचे अनुसारको प्रगति हुन नसकेको सडक डिभिजनको भनाइ छ । हेटौंडा र डुम्रेबाट थप दुई जना अपरेटर झिकाइएर कामलाई निरन्तरता दिइएको छ ।
कुनै बाधा नभए बिहीबारै रातिसम्म सबै पहिरो हटाई सवारीसाधन सञ्चालनमा ल्याउने तयारी छ । यही असोज ७ गते दिउँसो करिब सवा ३ बजेदेखि उक्त सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
यसअघि यो पहिरो दुई दिनमा हटाएर अवरुद्ध सडक खुलाइने कार्यालयले जनाएको थियो ।
प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार
















