सुदूरपश्चिममा रेबिज संक्रमण बढ्दै, एक वर्षमै १३६ पोजेटिभ
कञ्चनपुर, असोज १० । सुदूरपश्चिममा रेबिजको संक्रमण बढ्दै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा संकलित एक सय ७० नमुनामध्ये एक सय ३६ मा रेबिज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले जनाएको छ ।
सबैभन्दा बढी संक्रमण कैलालीमा संकलन गरिएका ९८ नमुनामध्ये ७८ पोजेटिभ पाइएको प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले जानकारी दिए । त्यस्तै कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा सातमध्ये पाँच, बझाङका तीन, डोटीका आठमध्ये छ पोजेटिभ परिणाम आएको छ ।
वरिष्ठ पशु चिकित्सक जोशीका अनुसार रेबिज फैलाउनमा मुख्य भूमिका कुकुरको देखिएको छ । परीक्षण गरिएका ८७ कुकुरका नमुनामध्ये ७२ मा रेबिजको संक्रमण पाइएको छ ।
त्यस्तै, भैँसीका ३२ मध्ये २२, गाईगोरुका २६ मध्ये २३, बाख्राका ११ मध्ये आठ, घोडाका दुई, बङ्गुरका सातमध्ये पाँच र खरायोको एउटा नमुनामा पनि पोजेटिभ देखिएको छ ।
प्रयोगशालाले आव २०७६÷७७ बाट रेबिज रोग अन्वेषण तथा सर्भिलेन्स सुरु गरेको हो। सुरुमा दुई नमुनामात्र पोजेटिभ पाइएकामा २०७९÷८० मा ३९, २०८०÷८१ मा एक सय ५७ र चालु वर्ष एक सय ३६ पोजेटिभ देखिनु संक्रमण बढ्दो क्रमलाई देखाउँछ।
‘रेबिज पशुबाट मानिसमा सर्ने रोगका रूपमा रहेको छ’, चिकित्सक जोशीले भने, ‘यो रोग जंगली जनावर स्याल, ब्वाँसो, फ्याउरो आदिबाट घरपालुवा कुकुर, बिरालोलगायतमा सर्छ।’ कुकुरलगायतले मानिससँगै अन्य घरपालुवा जनावरलाई टोकेर रेबिज सार्ने गर्दछन्।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा करिब ५९ हजार मानिसको मृत्यु रेबिजका कारण हुन्छ। तीमध्ये ९५ प्रतिशत मृत्यु अफ्रिकी र एसियाली मुलुकमा हुने गरेका छन्।
संगठनले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिजजन्य मृत्यु शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा मात्र हरेक वर्ष करिब एक लाख बढी मानिसलाई जनावरले टोकेको तथ्यांक छ भने १५ देखि ३६ जनाको मृत्यु हुने गरेको पाइएको छ। नेपालमा करिब २९ लाख कुकुर रहेको विश्व स्वास्थ्य संगठनको अध्ययन छ।
‘रेबिजको लक्षण देखिएपछि उपचार सम्भव छैन, मृत्यु निश्चित छ, त्यसैले रोकथाममै जोड दिनुपर्छ’, वरिष्ठ पशु चिकित्सक जोशी भन्छन्, ‘संक्रमित जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गरी जति सक्दो चाँडो ‘एन्टी रेबिज भ्याक्सिन’ लगाउनुपर्छ ।’
उनका अनुसार रेबिज लागेपछि पानी पिउन मन नलाग्ने, पिउन गाह्रो हुने, पानीसँग डर लाग्ने, स्मरण शक्ति हराउने, ज्वरो आउनेलगायत लक्षण देखिने गर्छ। शरीरमा प्रवेश गरेको भाइरसको मात्राअनुसार कसैमा छिटो त कसैमा ढिलो लक्षण देखापर्ने गरेको उनको भनाइ छ ।
प्रकाशित मिति: १० आश्विन २०८२, शुक्रबार












