मोहना नदीमा शंकास्पद अवस्थामा एक बालिकाको शव फेला
काठमाडौँ, असोज ११ । कैलालीको मोहना नदीमा एक बालिकाको शव शंकास्पद अवस्थामा फेला परेको छ ।
धनगढी उपमहानगरपालिका–३, चटकपुरकी ११ वर्षीया सुमित्रा राना मोहना नदीमा शुक्रबार दिउँसो मृत अवस्थामा फेला परेकी हुन् । उनी बिहीबार साँझदेखि बेपत्ता भएकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार बालिकाको शव नदीमा डुबेको अवस्थामा थियो भने उनको कपडा र चप्पल घटनास्थलबाट करिब २०० मिटर पर भेटिएको थियो ।
शव निर्वस्त्र अवस्थामा भेटिएकाले घटना रहस्यमय भएको बताइएको छ । शव पोष्टमार्टमका लागि पठाएको र रिपोर्ट आएपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार












