कांग्रेसले यस वर्ष चियापान नगर्ने
काठमाडौं, असोज १२ । नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको वार्षिक चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम यस वर्ष भने नगर्ने भएको छ ।
वि.सं. २०३३ सालमा जननायक बी.पी. कोइराला निर्वासनबाट फर्केपछि ‘राष्ट्रिय एकता तथा मेलमिलापको नीति’सहित शुरु भएको यो परम्परा कांग्रेसले निरन्तरता दिँदै आएको थियो ।
यसवर्ष भने गत भदौ २३ र २४ गतेका अकल्पनीय राजनीतिक घटनाक्रमपछि देश मुलुक शोकमा डुबेको भन्दै यस वर्ष चियापान कार्यक्रम नहुने कांग्रेसले जनाएको हो ।
प्रदर्शनका क्रममा ७२ जनाभन्दा बढीले ज्यान गुमाउनुका साथै राष्ट्रपति भवनदेखि सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतलगायतका संरचनामा आक्रमण भएको, कांग्रेस सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा. आरजु राणा देउवासहित नेताहरूलाई लक्षित हिंसात्मक गतिविधि भएको थियो । यसक्रममा काँग्रेस पार्टी केन्द्रीय कार्यालयमा समेत आगजनी गरिएको छ ।
प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार












