नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजाआराधना गरिँदै



काठमाडौं, असोज १५ । नवरात्रको अन्तिम दिन आश्विन शुक्ल नवमीमा आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

मुमुक्षुहरूलाई मोक्ष प्रदान गर्ने हुनाले यी देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरूद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिन्छन् ।

सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ । दुर्गा देवीका नौ नाम स्वयम् ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ ।

नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्री, दोस्रो दिन असोज ७ गते ब्रह्मचारिणी, ८ गते चन्द्रघण्टा देवी, चौथो दिन ९ गते र पाँचौँ दिन १० गते कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरियो ।

चौथी तिथि वृद्धि भएर दुवै दिनको सूर्योदयकालमा चौथी परेकाले दुवै दिन कुष्माण्डा देवीको पूजाआराधना गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

त्यसैगरी नवरात्रको छैटौँ दिन असोज ११ गते नवदुर्गामध्येकी पाँचौँ स्कन्दमाता, सातौँ दिन असोज १२ गते छैटौँ देवी कात्यायनी देवी, आठौँ दिन असोज १३ गते सातौँ देवी कालरात्रि र १४ गते आश्विन शुक्ल अष्टमीमा महागौरी देवीको पूजाआराधना गरियो ।

नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना गरिँदैछ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्