घरायसी विवादमा श्रीमानले लियो श्रीमतीको ज्यान
काठमाडौं । इटहरी उपमहानगरपालिका–१२ मा घरायसी विवादका क्रममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् ।
खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भई इटहरीमा बस्दै आएका ३० वर्षीय सुमन दाहालले आफ्नी श्रीमती २५ वर्षीया अनिसा भट्टराईलाई काठको बटम प्रहार गरेर हत्या गरेका हुन् ।
दाहालले राति ८ बजेतिर श्रीमतीको टाउको, नाक र कानमा प्रहार गरेका थिए । घटनापछि घाइते भट्टराईलाई प्रहरीले उद्धार गरी उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर पुयाइएको थियो । तर उनको उपचारको क्रममा राति ९ः१० बजेतिर मृत्यु भएको हो ।
उनको हत्या आरोपी दाहाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार












