कांग्रेस बैठक बस्ने भएपछि सानेपामा सुरक्षा व्यवस्था कडा, चेकजाँचपछि मात्रै भित्र प्रवेश



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्ने भएपछि नेताहरू पार्टी कार्यालय पुग्न थालेका छन् ।

नियमित महाधिवेशन वा विशेष महाधिवेशन गर्ने गर्ने, नगर्ने भन्नेबारे निर्णय लिन कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो।

आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि उपस्थित हुने तयारी छ ।

जेनजी आन्दोलनमा सांघातिक आक्रमण भोगेका सभापति देउवा यसअघिको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा भने उनी उपस्थित भएका थिएनन्।

जेनजी आन्दोलनपछि पहिलोपटक देउवा सार्वजनिक कार्यक्रममा सहभागी हुने भएपछि सानेपामा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ। अहिले कार्यालयको गेट बाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।

साथै, कांग्रेसका भातृ संगठन तरुण दल र नेविसंघका कार्यकर्ता पनि सुरक्षा दिने भन्दै उभिएका छन् ।

बैठकमा हालको राजनीतिक अवस्था, पार्टी पुनर्संरचना र भावी रणनीतिसम्बन्धी केही महत्वपूर्ण निर्णय हुने सम्भावना छ ।

प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्