एमाले नेता सिंहले भने- दुई पटक आफैँले विघटन गरेको संसद् अहिले पुनस्स्थापनाको माग गर्नु हास्यास्पद



काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले अध्यक्ष केपी ओलीलाई आफैँले दुईदुईपटक विघटन गरेको प्रतिनिधि सभा अहिले पुनस्स्थापनाको माग राख्नु हास्यास्पद हुने बताएका छन् ।

ललितपुरमा जारी नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठकको तेस्रो दिनमा वीरगन्जबाट सहभागी केन्द्रीय सदस्य सिंहले यस्तो बताएका हुन् ।

उनले भनेका छन्- ‘दुईदुई पटक हामी आफैँले संसद् विघटन गरेकोले संसद् पुनर्स्थापनाको माग लिएर आन्दोलनमा जाँदा हामी आम जनताका बिच घृणा र हाँसोको पात्र मात्रै हुन्छौँ। चुनाव बहिष्कार गर्ने नीति अर्को भिडन्त निम्त्याउने योजना हो। कमजोरी सच्याउँदै चुनावमा जानुको विकल्प छैन ।’

बैठकमा दशबुँदे सुझाव र प्रश्न प्रस्तुत गर्दै उनले चुनाव बहिष्कार गर्दा अर्को भिडन्त निम्तिने चेतावनी समेत दिएका छन्।

उनले भनेका छन्- ‘वर्तमान अवस्थामा जनताको आक्रोश नेकपा एमालेमाथि भन्दा पनि पार्टी अध्यक्ष, उनका अभिव्यक्ति र उनलाई घेराबन्दीमा राखेर चलाउने समूहमाथि रहेकोले त्यो यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी हस्तान्तरण गरेर मार्गप्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्रै उपाय हो।’

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग पनि राखेका छन्।

यसैगरी उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरी पार्टी काममा फर्किने वातावरण बनाउन पनि माग गरेका छन्।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्