एमाले नेत्री तिम्सिनाको आग्रह- चुनाव वा आन्दोलनमा जान सकिँदैन, सम्मानपूर्वक राजीनामा दिनुहोस्



काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर पार्टी जोगाउन आग्रह गरेकी छिन् ।

ललितपुरमा जारी नेकपा एमालेको १०औँ केन्द्रीय कमिटीका बैठकको तेस्रो दिन शुक्रबार दशबुँदे सुझाव र प्रश्न प्रस्तुत गर्दै उनले जेनजी आन्दोलनको एउटा मुख्य माग पार्टीहरूको पुनर्गठन पनि भएकाले एमालेमा नेतृत्व हस्तान्तरण हुनुपर्ने माग गरेकी हुन्।

कमिटी बैठकमा तिम्सिनाले ओलीकै नेतृत्वमा पार्टीलाई अगाडि बढाइए थप क्षति व्यहोर्नुपर्ने भन्दै सचेत गराइन् । जनतामा पार्टी नेतृत्वप्रति खराब छवि स्थापित भइरहेको बेला सम्मानपूर्वक राजीनामा दिएर सकारात्मक सन्देश दिन तिम्सिनाले आग्रह गरिन् ।

उनले भनिन्- ‘यो जेनजी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेऊ भन्ने नै हो, त्यसलाई अनदेखा गर्न अब सकिन्न । यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन कमरेड, यहाँले बिदा लिएर अभिभावक बन्नेबित्तिकै देशभर सकारात्मक सन्देश जानेछ ।’

पार्टीले व्यवसायी मीनबहादुर गुरुङबाट अबौँ चन्दा लिएकोमा प्रश्न उठाउँदा ६ महिनाको निलम्बन भोगेकी उनले अब उक्त सहयोग फिर्ता गर्नुपर्ने समय आएको पनि बताइन् ।

‘अन्यथा नलिनुहोला, मीनबहादुर गुरुङको सम्पत्तिमाथि हमला भयो, क्षति भयो, त्यसैले अब पार्टीले पनि सहयोग फिर्ता गर्ने निर्णय गर्नुपर्छ।’ तिम्सिनाको भनाइ थियो ।

गत वर्ष पार्टी कार्यालय बनाउन भाटभटेनीका सञ्चालक गुरुङबाट जग्गादान लिने निर्णयको आलोचना गर्दा तिम्सिनालाई अध्यक्ष ओलीले ६ महिनाका लागि केन्द्रीय सदस्यबाट निलम्बन गरेका थिए।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्