काभ्रेमा जेनजी आन्दोलनका क्रममा भागेका ५२ जना कैदी पक्राउ



काभ्रेपलाञ्चोक, कार्तिक ३ । जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते विभिन्न कारागारबाट भागेका ५२ जना फरार कैदीबन्दी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक र मातहत प्रहरी इकाइहरुबाट खटिएको प्रहरी टोलीले ५२ जना कैदी, थुनुवा तथा बालबिजाइँकर्ताहरु पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानाकारी दिए ।

उनका अनुसार पक्राउ परेका बाल बिजाइँकर्ताहरुलाई बाल सुधार गृह भक्तपुर र अन्यलाई जिल्ला कारागार काभ्रेपलाञ्चोकमा राखिएको छ ।

पक्राउ परेकामध्ये जबरजस्ती करणीका १४ जना, कर्तव्य ज्यानका १२ जना छन् ।

गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट भागेका साढे ६ हजारभन्दा धेरै कैदीबन्दीको विवरण सार्वजनिक भएको छ ।

सार्वजनिक सूची अनुसार जेनजी आन्दोलनको क्रममा विभिन्न कारागारमा रहेका काभ्रे जिल्लाका मात्र ९० जना कैदी फरार भएका छन् ।

सार्वजनिक सूची अनुसार पाँच हजार आठ सय ६८ जना नेपाली, पाँच सय ४० जना भारतीय र एक सय आठ जना भारतबाहेकका अरू विदेशी कैदीबन्दी फरार रहेका छन् ।

प्रकाशित मिति: ३ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्