होटल–रेस्टुरेन्टको खाद्य गुणस्तरमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन
काठमाडौँ, १६ असार । गृह मन्त्रालयले देशभर सञ्चालित होटल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर र स्वच्छतासम्बन्धी गुनासो बढेपछि नियमित तथा सघन बजार अनुगमन गर्न सबै जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।
मन्त्रालयले सिंहदरबारबाट जारी गरेको विशेष निर्देशनमा नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकार सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व भएकाले खाद्य स्वच्छतासम्बन्धी कानुनी कारबाही र बजार अनुगमनलाई तीव्र बनाउन आग्रह गरिएको छ।
निर्देशनअनुसार होटल तथा रेस्टुरेन्टमा उपलब्ध गराइने खानाको गुणस्तर र खाद्य स्वच्छताको नियमित, सघन तथा आकस्मिक अनुगमन गरिनेछ। अनुगमनलाई प्रक्रियामा मात्र सीमित नराखी परिणाममुखी बनाइने र नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने तथा प्रचलित कानुन उल्लङ्घन गर्ने पक्षलाई कानुनबमोजिम कडा कारबाही गरिने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले स्थानीय स्तरका गुनासा र समस्याको समाधान जिल्ला प्रशासन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लामै गर्न निर्देशन दिएको छ। सामान्य विषयमा समेत सेवाग्राही मन्त्रालयसम्म धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने नीति लिइएको मन्त्रालयको भनाइ छ।
जिल्लाको कार्यसम्पादन मन्त्रालयले प्रत्यक्ष रूपमा अनुगमन गर्ने भएकाले कुनै पनि प्रकारको असक्षमता वा उदासीनता नदेखाउन प्रमुख जिल्ला अधिकारीहरूलाई सचेत गराइएको छ।
मन्त्रालयका शाखा अधिकृत संगम सापकोटाद्वारा हस्ताक्षरित निर्देशनमा नागरिक केन्द्रित सुशासन कायम गर्दै बजारमा विधिको शासन स्थापित गर्न स्थानीय प्रशासनले पूर्ण व्यावसायिकता प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।
मन्त्रालयले अस्वच्छ, दूषित वा गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण भएको जानकारी पाएमा तत्काल प्रमुख जिल्ला अधिकारीको कार्यालय वा हटलाइन डेस्कमा सम्पर्क गरी नागरिक जिम्मेवारी निर्वाह गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित मिति: १६ असार २०८३, मंगलबार












