Deshko News
१५ मंसिर २०८०, शुक्रबार

काठमाडौंका सडकमा हर्न बजाउन रोक, बजाए जरिवाना


 


काठमाडौं, चैत्र २२

सडकमा गुड्ने साधनले जथाभाबी हर्न बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै नियामक निकायले काठमाडौंका सडकमा हर्न बजाउन रोक लगाएका छन् । यातायात व्यवस्था विभाग ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंको चैत २० गतेको संयुक्त बैठकले हर्न बजाउन नपाउने व्यवस्था कार्यान्वयन सुरु गर्ने निर्णय गरेको हो ।

सडकमा गुड्ने यातायातका साधनले अब विशेष अवस्थाबाहेक हर्न बजाए जरिबाना तिर्नुपर्ने छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ कोे दफा १६४ को ग अनुसार जथाभाबी हर्न बजाए जरिबाना गर्ने निर्णय गरेको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा बसेको बैठकले २०७४ वैशाख १ गतेदेखि यो नियम लागू हुने निर्णय गरेको छ । जथाभाबी हर्न बजाए पहिलोपटक पाँच सय, दोस्रोपटक एक हजार र तेस्रोपटक एक हजार पाँच सय जरिबाना।

अनावश्यक ध्वनिका कारण मानसिक तनाव बढ्ने, रिस उठ्ने, टाउको दुख्ने, अध्ययन गर्न मन नलाग्ने समस्या हुने चिकित्सकको भनाइ छ । ध्वनि प्रदूषणका कारण यातायात साधनका हर्न, जहाजले निकाल्ने आवाज र मेसिनहरू मुख्य हुन् ।

गाडीको हर्न नियन्त्रण गरे ३० प्रतिशत ध्वनि प्रदूषण नियन्त्रण हुने त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा. करवीरनाथ योगीले बताए । ध्वनि प्रदूषण अदृश्य रोग भएकाले अधिकांश रोग यसैबाट विकास हुँदै जाने उनले बताए । हाम्रो समाजमा विश्व स्वास्थ्य संगठनले तय गरेको ध्वनिभन्दा तेब्बर बढी भएको चिकित्सकको भनाइ छ ।

यो खबर हामिले आजको अन्नपूर्णपोष्ट दैनिकबाट लिएका हौँ ।

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्