चौरपाटीको केन्द्रमै पानीको हाहाकार, चौरमाडौँ आधारभूत अस्पताल सबैभन्दा बढी प्रभावित
अछाम । अछामको चौरपाटी गाउँपालिकाको केन्द्रमा महिनौँदेखि खानेपानीको चरम अभाव भएको छ ।
जाडेपानीबाट मोटरमार्फत पानी तानेर चौरपाटी बजार तथा आसपासका बस्तीमा वितरण गरिँदै आएको खानेपानी प्रणालीको मोटर बिग्रिएपछि स्थानीयवासी, सरकारी कार्यालय र स्वास्थ्य संस्था सबै प्रभावित बनेका हुन् ।
खानेपानी अभावको सबैभन्दा ठूलो असर चौरमाडौँ आधारभूत अस्पतालमा परेको छ । अस्पतालमा उपचारका लागि आउने बिरामी तथा विशेषगरी सुत्केरी महिलाको सरसफाइ र दैनिक स्वास्थ्य सेवामा आवश्यक पर्ने पानी नहुँदा सेवा प्रवाह नै प्रभावित भएको छ ।
हाल त्यहाँका कार्यालय सहयोगीहरुले टाढाबाट पानी बोकेर काम चलाउन बाध्य छ । यद्यपि पानी अभावका कारण अस्पताल नै दुर्गन्धित हुने अवस्थामा छ ।
स्थानीयवासीका अनुसार मोटर बिग्रिएको महिनौँ बितिसक्दा पनि गाउँपालिका र सम्बन्धित निकायले समयमै मर्मत वा वैकल्पिक व्यवस्था गर्न नसक्दा समस्या झन् जटिल बन्दै गएको छ । अस्पतालसँगै गाउँपालिकामा कार्यरत कर्मचारी तथा चौरपाटी बजारका बासिन्दा पनि दैनिक पानीको अभाव झेल्न बाध्य छन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर थापाले मोटर मर्मतका लागि साँफेबगर पठाइएको जानकारी दिए। ‘मोटर बिग्रिएको छ। बनाउन साँफे पठाएका छौँ। मर्मत भएर आएपछि पानीको समस्या समाधान हुन्छ,’ उनले भने।
यता चौरपाटी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्यालले पनि मोटर मर्मतको काम भइरहेको बताए । उनका अनुसार मर्मत सम्भव नभए नयाँ मोटर खरिद गरेर खानेपानी आपूर्ति तत्काल सुचारु गरिनेछ ।
तर, अत्यावश्यक सेवा प्रदान गर्ने अस्पतालसमेत महिनौँदेखि पानीविहीन हुँदा स्थानीयले सम्बन्धित निकायको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












