काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना : पैदलयात्रीको मृत्यु



काठमाडौं, कार्तिक १३ । काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासमा दुर्घटना भएको छ । दुर्घटनामा एकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बिहीबार राति करिब २ बजेको समयमा बा.प्र.०१–००६ ख ८५ ०६ नं. को बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो । त्यसक्रममा बसले एक पैदल यात्रीलाई ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका अन्दाजी ५०÷५५ वर्षका पैदल यात्रीको चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा गर्दा मृत्यु भएको हो । मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसमा सवार पाँच जना घाइते भएका छन् । उनीहरुको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ । अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्