अफगानिस्तानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प



एजेन्सी । अफगानिस्तानको उत्तरी क्षेत्रमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

संयुक्त राज्य भू–वैज्ञानिक सर्वेक्षण (यूएसजीएस)का अनुसार सोमबार बिहान १२ः५९ बजे (स्थानीय समय) हिन्दुकुश क्षेत्रको मजार–इ–शरीफनजिकै खल्म क्षेत्रमा २८ किलोमिटर (१७ माइल) गहिराइमा भूकम्प गएको हो । भूकम्पको कम्पन राजधानी काबुलमा समेत महसुस गरिएको बताइन्छ ।

हालसम्म कुनै मृत्यु वा घाइतेबारे जानकारी प्राप्त नभएको स्थानीय अधिकारीहरूले जनाएका छन् ।

एएफपी समाचार एजेन्सीका अनुसार मजार–इ–शरीफमा भूकम्पका कारण स्थानीयवासी रातको मध्यरातमा घर भत्किने डरले सडकमा निस्किएका थिए ।

तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानले धेरै ठूलो भूकम्पहरूको सामना गर्नुपरेको छ । सन् २०२३ मा पश्चिमी हेरात क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा १५ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो र ६३ हजार भन्दा बढी घर ध्वस्त भएका थिए ।

त्यसअघि, यही वर्षको ३१ अगस्टमा देशको पूर्वी भागमा ६.० म्याग्निच्युडको भूकम्पले २२ सय भन्दा बढीको ज्यान लिएको थियो ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्