अर्को शक्तिशाली समुद्री आँधीको चपेटामा फिलिपिन्स, आपतकाल घोषणा



मनिला । फिलिपिन्स यतिबेला प्रकृतिको दोहोरो प्रकोपसँग जुधिरहेको छ । २०० भन्दा बढीको ज्यान लिनेगरी आएको कालमेगी आँधीको प्रकोप नसकिँदै अर्को अति शक्तिशाली समुद्री आँधी ‘फुङ–वङ’ ले त्यहाँ वितण्डा मच्चाइरहेको छ । यसलाई यस वर्षको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक मानिएको छ ।

आइतबार देशको उत्तरपूर्वी तटसम्म ‘फुङ–वङ’ आइपुगेको छ । मौसम विभागका अनुसार, फङ–वङको प्रतिघण्टा १८५ किलोमिटरको वेगमा अगाडि बढिरहेको छ । यसको मध्यमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी चलिरहेको बताइएको छ । यसको प्रभाव १ हजार ६०० किलोमिटरको दायरामा फैलिन सक्ने र यसले दक्षिणपूर्वी एसियाको दुई तिहाइ भागलाई असर गर्ने बताइएको छ ।

सरकारले ‘फुङ–वङ’ लाई राष्ट्रव्यापी आपत्कालीन अवस्था घोषणा गरेको छ । राष्ट्रपति फर्डिनान्ड मार्कोस जूनियरले मानिसहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् ।

आँधीले सेबु, अरोरा, इसाबेला र राजधानी मनिला लगायत देशका धेरै भागहरूमा विनाश निम्त्याउन सक्ने रक्षामन्त्री गिल्बर्टो टियोडोरो जूनियरले चेतावनी दिएका छन् ।

एकपटक वर्षा सुरु भएपछि वा पूर्णरूपमा आँधी आइपुगेपछि मानिसहरूलाई उद्धार गर्न अत्यन्तै गाह्रो हुने भएकोले अहिले नै मानिसहरूलाई सुरक्षित स्थलमा लैजानु सबैभन्दा सुरक्षित विकल्प भएको उनले बताए ।

फिलिपिन्समा प्रत्येक वर्ष लगभग २० वटा आँधी आउँछन् । यहाँ बारम्बार भूकम्प र ज्वालामुखी विस्फोट पनि हुन्छन् । यो विश्वको सबैभन्दा धेरै प्राकृतिक प्रकोप आउने देशमध्ये एक हो ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्