धर्मेन्द्रको निधनको खबर परिवारद्वारा खण्डन, स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी
एजेन्सी। बलिउड अभिनेता धमेन्द्रको मृत्यु भएको खबरलाई उनको परिवारले खण्डन गरेको छ ।
बढ्दो जनचासोबीच धर्मेन्द्रका सुपुत्र तथा चर्चित अभिनेता सन्नी देओलले आफ्ना बुबाको स्वास्थ्यबारे आधिकारिक जानकारी दिँदै उनको अवस्था स्थिर रहेको बताएका छन् । उनले धर्मेन्द्रको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैलाई सकारात्मक रहन र गलत अफवाहहरूबाट टाढा रहन अनुरोध गरेका छन् ।
यसअघि, धर्मेन्द्रकी धर्मपत्नी तथा वरिष्ठ अभिनेत्री र राजनीतिज्ञ हेमा मालिनीले पनि सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्यबारे जानकारी दिँदै प्रशंसकहरूको चिन्ताप्रति आभार व्यक्त गरेकी थिइन् ।
उनले पछि एक्समा लेखेकी छन्- ‘जे भइरहेको छ, त्यसलाई माफ गर्न सकिँदैन । जिम्मेवार च्यानलहरूले एक व्यक्तिको बारेमा झूटो खबर कसरी फैलाउन सक्छन्, जसमा उपचारको प्रभाव देखिँदै छ र उनी ठिक भइरहेका छन् । यो एकदमै अपमानजनक र गैरजिम्मेवार हो । कृपया परिवार र उनीहरूको प्राइभेसीको सम्मान गरौँ ।’
प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार
















