युद्धविराम सुरु भएयता गाजामा इजरायली सेनाले भत्काए १५०० भन्दा धेरै भवन



रफाह । पछिल्लो समय इजरायल र हमासबिच युद्धविराम लागू भएको छ । युद्धविरामको अवस्थामा पनि दुई पक्षले एक अर्कालाई आरोप लगाउन र गाजामा इजरायली सेनाको आक्रमण बन्द भएको छैन ।

अक्टोबर १० मा युद्धविराम सुरु भएयता इजरायलले गाजा क्षेत्रमा १ हजार ५०० भन्दा बढी भवनहरू ध्वस्त पारेको बीबीसी भेरिफाइले समीक्षा गरेको उपग्रह तस्बिरहरूले देखाएको छ ।

यीमध्ये नयाँ तस्बिर नोभेम्बर ८ मा लिइएको थियो । एक महिनाभन्दा कम समयमा इजरायली रक्षा बल (आईडीएफ) को नियन्त्रणमा रहेको सारा क्षेत्र भत्काएर सम्म पारिएको यसले देखाएको छ ।

बीबीसीसँग भेरिफाई गर्न केही क्षेत्रहरूको उपग्रह तस्बिरहरू उपलब्ध नभएकोले नष्ट गरिएका भवनहरूको वास्तविक सङ्ख्या अझै बढी हुनसक्ने मानिएको छ ।

भवन भत्काउने आईडीएफको यो कार्यले अमेरिका, इजिप्ट, कतार र टर्कीको मध्यस्थतामा भएका युद्धविरामका सर्तहरू उल्लङ्घन गर्नसक्ने केही विज्ञहरूले तर्क गरेका छन् । तर आफूले युद्धविराम ढाँचाका अनुसार काम गरिरहेको आईडीएफका एक प्रवक्ताले बीबीसी भेरिफाइलाई भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा २० बुँदे शान्ति योजनामा हवाई र तोपखाना बमबारी सहित सबै सैन्य कारबाहीहरू निलम्बित गरिने भनिएको थियो । उनले त्यो बेलादेखि नै बारम्बार युद्ध समाप्त भएको भनेका छन् ।

प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्