ब्राजिलमा जलवायु सम्मेलनस्थल बाहिर झडप
रियो द जेनरियो । ब्राजिलमा जारी जलवायु सम्मेलनमा हंगामा भएको छ । मंगलबार ब्राजिलको अमेजन सहर बेलेममा संयुक्त राष्ट्र जलवायु सम्मेलन (कोप ३०) आयोजना भएको प्रदर्शनकारी र सुरक्षाकर्मीहरूबिच झडप भयो ।
प्रदर्शनकारीहरूले सुरक्षा घेरा तोडेर सम्मेलन स्थलमा प्रवेश गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीहरूले तिनीहरूलाई रोकेका थिए । यसक्रममा दुई जना सुरक्षाकर्मीलाई सामान्य चोटपटक लागेको बताइएको छ ।
‘आज साँझ केही प्रदर्शनकारीहरूले मुख्य प्रवेशद्वारमा सुरक्षा अवरोधहरू तोडेका थिए, जसबाट दुई सुरक्षाकर्मीलाई सामान्य चोटपटक लाग्यो र कार्यक्रमस्थलमा सामान्य क्षति पुग्यो । ब्राजिल र संयुक्त राष्ट्र सुरक्षा टोलीहरूले स्थापित प्रोटोकल अनुसार तुरुन्तै कारबाही गरे ।
कार्यक्रमस्थल हाल पूर्णरूपमा सुरक्षित छ र सम्मेलनमा छलफल सामान्य रूपमा जारी छ’ संयुक्त राष्ट्र जलवायु परिवर्तन सङ्गठनले विज्ञप्तिमा भनेको छ ।
दिनको सत्र समाप्त हुँदै गरेको अनि मानिसहरू सम्मेलन स्थलबाट बाहिर निस्कँदै गर्दा यो घटना भएको हो । केही प्रदर्शनकारीहरूले पहेँलो टी–सर्ट लगाएका थिए भने अरूले परम्परागत आदिवासी पोसाक लगाएका थिए । प्रदर्शनकारीहरूले सुरुमा नाचगान र नारा लगाएको घटनास्थलमा उपस्थित ग्लोबल यूथ कोलिशनका युवा संयोजक अगस्टिन ओकान्याले बताए ।
सुरक्षा घेरा कसले पहिले तोड्यो भन्ने कुरा स्पष्ट थिएन, तर गार्डहरूले ढोका बन्द गर्न खोज्दै थप बल बोलाएपछि स्थिति बिग्रिएको उनी भन्छन् । केही प्रदर्शनकारीहरूले हामीलाई समावेश नगरीकन तिमीहरूले हाम्रो लागि निर्णय गर्न पाउँदैनौँ भनिरहेको उनले बताए ।
झडप बढ्दै जाँदा दुवै पक्षका केही सदस्यहरूले एक अर्कालाई साना प्लास्टिकका बक्सहरूले हिर्काउन थाले । सरकार र अन्तर्राष्ट्रिय एजेन्सीहरूले जलवायु सम्मेलनका लागि नयाँ सहर निर्माणमा ठुलो लगानी गरिरहेको तर उनीहरूको क्षेत्रमा शिक्षा, स्वास्थ्य र वन संरक्षण जस्ता आधारभूत आवश्यकताहरू नै पूरा हुन नसकेका अवस्था भएकोले आदिवासीहरू रुष्ट भएको बताइएको छ ।
‘यी मानिसहरू खराब छैनन्, उनीहरू हतास छन्, आफ्नो भूमि र नदीको रक्षा गर्न लडिरहेका छन्’ ओकान्याले भने । विश्वले जलवायु संरक्षणबारे कुरा मात्रै गरिरह्यो र ठोस कदम चालेन भने भविष्यमा यस्ता घटनाहरू हुन सक्ने चेतावनी उनले दिएका छन् ।
हामीले हाम्रो ग्रह बचाउने कुरालाई यसरी नै बेवास्ता गरिराख्यौँ भने स्थिति अझ गम्भीर हुनसक्ने उनले बताए ।
प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार
















