गृहमन्त्रीसँग दुर्गा प्रसाईंका प्रतिनिधिले भने- हाम्रा गतिविधि शान्तिपूर्ण हुन्छन्
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का प्रतिनिधिहरूले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापन पत्र बुझाएका छन् । बुधवार सिंहदरबारस्थित गृह मन्त्रालयमा प्रसाईंका ६ जना प्रतिनिधिहरूले ज्ञापन पत्र बुझाउँदै २६ बुँदे माग राखेका हुन् ।
गृहमन्त्रीसँगको छलफलमा दुर्गा प्रसाईं सहभागी भएनन् । उनको समूहले मङ्सिर ७ गतेबाट देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । प्रसाईंका प्रतिनिधिहरूले आफ्ना माग राख्दै आफ्ना गतिविधि शान्तिपूर्ण हुने प्रतिबद्धता जनाएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले बताए । उनले भने– ‘उहाँहरूले आफ्नो गतिविधि शान्तिपूर्ण हुने बताउनुभएको छ ।’
छलफलमा गृहमन्त्री अर्यालले अहिलेको सरकार वार्ता र संवादबाट अघि बढ्न चाहेको बताएका थिए । छलफल गर्न भनेर समय मागेको हुनाले मन्त्री अर्यालले प्रसाईंको समूहलाई समय उपलब्ध गराएको सहसचिव काफ्लेले बताए । उनले भने– ‘६ जना प्रतिनिधि आउनुभएको थियो, २६ बुँदे ज्ञापन पत्र दिनुभएको छ ।’
प्रसाईंको समूहले उठाएको कतिपय विषय वर्तमान सरकारले गर्न खोजेको सुरक्षासँग सम्बन्धित र कतिपय विषय राजनीतिसँग सम्बन्धित रहेको काफ्लेले बताए ।
गृह प्रशासनले राजनीतिक कुरा राजनीतिक तवरले हल गर्न प्रसाईंका प्रतिनिधिलाई सुझाएका छन् । प्रसाईंका प्रतिनिधिले छलफलमा राजनीतिक रूपमा अघि बढ्न दल दर्ता गर्ने प्रक्रियामा आफूहरू रहेको गृह प्रशासनलाई जानकारी गराएर फर्केका छन् । काफ्लेले भने– ‘उहाँहरूले दल दर्ता गर्ने प्रक्रियामा छौँ भन्नुभएको छ ।’
प्रकाशित मिति: २६ कार्तिक २०८२, बुधबार












