जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको प्रतिवेदन उपलब्ध गराउन एमालेको माग



काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको छानबिन तथा अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन माग गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको तर्फबाट एमालेका नेता महेश बर्तौलाले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेललाई भेटेर प्रतिवेदन उपलब्ध गराउन माग गर्दै निवेदन दर्ता गराएका हुन्।

बर्तौलाका अनुसार निवेदनमा आयोगले गरेको अनुसन्धान प्रतिवेदन, निर्णय तथा त्यससँग सम्बन्धित सम्पूर्ण कागजात उपलब्ध गराउन माग गरिएको छ।

निवेदनमा आगजनी, संवैधानिक निकायहरूलाई समाप्त गर्न उक्साउने गतिविधि तथा राज्य संयन्त्रमाथि अनधिकृत कब्जा गर्ने कार्यमा संलग्न व्यक्तिका विषयमा आयोगको निर्णय मौन रहेको उल्लेख गरिएको छ।

त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगको बैठक नम्बर १७७ सम्बन्धी सार्वजनिक सञ्चारमाध्यममा आएको निर्णयको सिफारिस खण्ड र निर्णयको तथ्य खण्डबीच मेल नखाएको दाबी पनि निवेदनमा गरिएको छ।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्