वैदेशिक रोजगारीको प्रलोभन देखाइ ठगी गर्ने तीन जना पक्राउ



काठमाडौँ, १३ असार । आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय समाचारकक्षका अनुसार पक्राउ पर्नेमा बाराका गगनबहादुर स्याङ्तान, सर्लाहीका निर्जल बस्नेत र दाङका बलबहादुर चन्द ठकुरी रहेका छन्।

प्रहरीका अनुसार गगनबहादुरले माल्दिभ्स पठाइदिने भन्दै चार जनाबाट चार लाख ३० हजार रुपैयाँ, निर्जलले मलेसिया पठाइदिने भन्दै एक जनाबाट तीन लाख ९० हजार रुपैयाँ र बलबहादुरले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट एक लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको पाइएको छ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौँ र ललितपुरबाट पक्राउ गरेको हो।

पक्राउ परेका गगनबहादुरलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ। निर्जल र बलबहादुरलाई भने आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्